Uncategorized

यसरी बदलिदै बुढिनन्दा

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा विकासका प्रयासहरू भइरहेका छन्, जहाँ शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।
मेयर जनक बोहराको नेतृत्वमा अस्पताल र स्वास्थ्य सेवाहरूमा सुधार गरिएको छ, जसले स्थानीय बासिन्दाहरूलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दैछ।
सरकारी विद्यालयहरूको सिकाइ उपलब्धि १७% बाट ९२% सम्म पुगेको छ, र विशेष ध्यान अभिभावकविहीन र विपन्न विद्यार्थीको लागि आवासीय विद्यालय सञ्चालन गरिएको छ।
बाजुरा । केही वर्षअघिसम्म बाजुरा भन्नासाथ अभाव, गरिबी, भोकमरी, सङ्कट र समस्याका कथा सुनिन्थे। वर्षभरि खान नपुग्ने परिवार, सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता, नुन–चामल किन्न घण्टौँ हिँड्नुपर्ने अवस्था र सञ्चार तथा विद्युत्‌को अभाव यहाँको दैनिकी थियो।

मानव विकास सूचकाङ्कमा पुछारमा रहेको बाजुराको विकटता अझ बढी महसुस हुने ठाउँमध्ये एक हो- बुढीनन्दा।

तर, अहिले बुढीनन्दाको कथा विस्तारै फेरिँदै छ। अभावबाट सम्भावनातर्फ, समस्याबाट समाधानतर्फ र विकटताबाट विकासतर्फ लम्किने प्रयास भइरहेको छ।

यस परिवर्तनको केन्द्रमा छन्— बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहरा।

दलित समुदायको बाहुल्य रहेको बस्तीमा जन्मिएर हुर्किएका बोहरा नगरको शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, विद्युत्, खानेपानी र पूर्वाधारका क्षेत्रमा परिवर्तन ल्याउने योजनासहित अघि बढिरहेका छन्। उनका लागि विकासको पहिलो आधार भने शिक्षा र स्वास्थ्य हो।

‘संसारमा जे जति विज्ञान र प्रविधिको विकास भएको छ, ती सबै मान्छेका लागि हुन्। मान्छे र मानवताभन्दा बाहिरको विकासको कुनै अर्थ छैन। त्यसैले मान्छे बचाउनुपर्छ भन्ने मेरो पहिलो लक्ष्य थियो। त्यही लक्ष्य लिएर मैले काम गरिरहेको छु,’ बोहरा भन्छन्।

२ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रदेखि १५ शय्याको अस्पतालसम्म

बुढीनन्दाको कोल्टी १७ वटा स्थानीय तहका नागरिकका लागि सेवा लिने केन्द्र हो। बाजुरासहित मुगु, हुम्ला र कालिकोटका मानिसहरू पनि उपचारका लागि कोल्टी पुग्छन्।

केही वर्षअघिसम्म सामान्य स्वास्थ्य परीक्षणका लागिसमेत जिल्लाबाहिर जानुपर्ने अवस्था थियो। रगत परीक्षण र एक्सरेदेखि सामान्य उपचारसम्मका लागि निजी क्लिनिकमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो।

बोहराको नेतृत्वमा नगरपालिकाले दुई शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनायो। अहिले १५ शय्याको अस्पताल सञ्चालनमा आइसकेको छ।

‘मैले २ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाएँ। अहिले १५ शय्याको अस्पताल सुरु भएको छ,’ बोहरा भन्छन्, ‘पहिले मेसिन थियो, तर प्रयोगमा थिएन। मैले त्यसलाई प्रयोगमा ल्याएँ। ल्याब राम्रो थिएन, त्यसलाई व्यवस्थित बनायौँ।’

लामो प्रयासपछि निक साइमन्स इन्स्टिच्युटको टोली भित्रिएपछि यहाँका हजारौँ सेवाग्राहीले थप विशेषज्ञ स्वास्थ्य सेवा पाउने उनको विश्वास छ।

अघिल्लो वर्ष कोल्टी आधारभूत अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा हेल्थ अवार्डबाट पुरस्कृतसमेत गरिएको थियो। निःशुल्क र सर्वसुलभ रूपमा कोल्टीमै स्वास्थ्य उपचार दिने आफ्नो लक्ष्य अहिले केही मात्रामा भए पनि पूरा भइरहेको बोहरा बताउँछन्।

नाम आधारभूत अस्पताल भए पनि अहिले कोल्टीबाट स्थानीयले विशेषज्ञ सेवा पाइरहेका छन्।

अस्पतालमा आफ्नो कार्यकालको सुरुदेखि नै जनरल फिजिसियन सेवाको व्यवस्था गरिएको छ। दुर्गममा चिकित्सक टिकाउन नगरपालिकाले मासिक लाखौँ रुपैयाँ खर्च गरिरहेको छ। सामान्य शल्यक्रियादेखि आँखाको उपचारसम्मका सेवा स्थानीयस्तरमै उपलब्ध हुन थालेका छन्।

अस्पतालमै फार्मेसी सञ्चालनमा ल्याइएको छ। दलित, जनजाति, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई औषधिमा १० प्रतिशत तथा अन्य सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

‘पहिलो वर्ष हामीले ७० प्रतिशतभन्दा धेरै बजेट शिक्षा र स्वास्थ्यमा विनियोजन गरेका थियौँ। अहिले पनि ६० प्रतिशत बजेट यिनै क्षेत्रमा खर्च भइरहेको छ,’ नगरप्रमुख बोहरा भन्छन्, ‘शिक्षा र स्वास्थ्य नपाएर कुनै पनि नागरिक भौतारिनु नपरोस् भन्ने हाम्रो मूल उद्देश्य हो।’

अस्पताल मात्र होइन, पालिकाका प्रत्येक स्वास्थ्य संस्थालाई प्रविधिसँग जोड्ने काम भइरहेको छ। स्मार्ट हेल्थ र टेलिहेल्थ सञ्चालनमा ल्याइएको छ। नगर क्षेत्रका १४ वटा स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा औषधिको व्यवस्था गरेर स्थानीय तहमै स्वास्थ्य सेवा पुर्‍याउने प्रयास भइरहेको छ।

गाउँघरमै विशेषज्ञ सेवा पुर्‍याउन ‘एकएक पाइला’ नामक दातृ संस्थासँगको सहकार्यमा दुर्गम बस्तीसम्म विभिन्न विशेषज्ञ शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

पहिलो वर्ष ४ हजार ५ सय जनाले निःशुल्क उपचार पाए। त्यसपछि नाक, कान, घाँटी र आँखाको शिविरमार्फत १ हजार ७ सयले निःशुल्क सेवा लिए। अघिल्लो वर्ष ४ हजार २ सय जनाले सेवा लिएका थिए। यसबाट बाजुरासहित छिमेकी चार जिल्लाका बिरामीहरू लाभान्वित भइरहेका छन्।

चारवटा पालिका र छिमेकी कर्णाली प्रदेशका एचआईभी संक्रमित नागरिकलाई समेत सहज हुने गरी एआरटी सेवा सञ्चालन गरिएको छ।

‘यहाँ एउटा बच्चा जन्मिँदा उसले आफ्नो आमाबुवालाई २ लाख रुपैयाँभन्दा बढी ऋण बोकाएर जन्मिनुपर्ने अवस्था थियो। यहाँ उपचार हुन नसक्दा हवाईजहाज चढेर धनगढी वा नेपालगन्ज जानुपर्थ्यो, जहाँ चर्को खर्च हुन्थ्यो। अहिले हामीले त्यसलाई धेरै हदसम्म रोक्न सफल भएका छौँ,’ उनी भन्छन्, ‘निकट भविष्यमै कम्तीमा २५ शय्याको अस्पताल निर्माण सुरु हुँदै छ। आवश्यक जग्गा र डीपीआर तयार भइसकेको छ। त्यसपछि स्वास्थ्य क्षेत्रमा हामी अर्को फड्को मार्ने छौँ।’

सुधारिँदै सिकाइ उपलब्धि

स्वास्थ्यसँगै बुढीनन्दामा बोहराले शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छन्।

नगरपालिकाका अनुसार सरकारी विद्यालयको सिकाइ उपलब्धि १७ प्रतिशतबाट ९२ प्रतिशतसम्म पुर्‍याइएको छ। लगातार तीन वर्षदेखि जिल्लामा शिक्षा क्षेत्रमा बुढीनन्दा पहिलो हुँदै आएको दाबी गरिएको छ।

शिक्षाको अवस्था बुझ्न नगरप्रमुखले शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति र शिक्षक महासङ्घका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर ३१ वटा सामुदायिक विद्यालयको अध्ययन गराएका थिए।

उनी भन्छन्, ‘त्यहाँको भौतिक अवस्था, शैक्षिक गुणस्तर र जनशक्तिको विवरणसहितको प्रतिवेदन मागेँ। त्यो प्रतिवेदन आएपछि त्यहीअनुसार सुधारका काम अघि बढाएको छु।’

बोहराले पहिलो चरणमा भौतिक संरचना निर्माणमा ध्यान दिए। १० वटै वडामा विद्यालय भवन तथा संरचना बनाउन ‘नगरप्रमुख युवा रोजगार कार्यक्रम’ सुरु गरे। यसबाट अहिलेसम्म २ हजारभन्दा बढी युवाले रोजगारीसमेत पाएका छन्।

कोल्टीको जनप्रकाश माविलाई प्रदेश नमुना विद्यालय बनाउनुका साथै एसईई र कक्षा ११-१२ को मौका परीक्षा दिन सदरमुकाम मार्तडी जानुपर्ने बाध्यताको अन्त्य गर्दै कोल्टीमै चारवटा पालिकाका विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ।

भारतीय दूतावासको सहयोगमा अलपत्र परेको विद्यालय भवनको पुनर्निर्माण सम्पन्न गरिएको छ।

कक्षा ३, ५, ८ र १० का विद्यार्थीका लागि गणित, विज्ञान र अंग्रेजी विषयमा अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ। कक्षा ११ र १२ मा विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क शिक्षा दिइएको छ। विद्यार्थीलाई घोकन्ते शिक्षाभन्दा सिर्जनशील र व्यावहारिक सिकाइमा जोड्न सङ्गीत, खेलकुद र नृत्य प्रशिक्षकको समेत व्यवस्था गरिएको छ।

यसको सकारात्मक प्रभाव खेलकुदमा समेत देखिएको छ। ‘१३–१४ वर्षसम्म सदरमुकामको मालिका माविले जित्दै आएको राष्ट्रपति रनिङ सिल्ड अघिल्लो वर्ष हामीले जित्यौँ,’ नगरप्रमुख बोहराले गर्वसाथ भने।

अभिभावकविहीन बालबालिकाका लागि आवासीय विद्यालय

दुर्गमका अभिभावकविहीन तथा आर्थिक रूपमा विपन्न विद्यार्थीका साथै मौसमी बसाइँसराइका कारण पठनपाठनबाट वञ्चित भोटे जनजाति समुदायका बालबालिकालाई लक्षित गरी सिद्धेश्वरी आधारभूत विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको छ। साथै, स्विट्जरल्यान्डको एनईएफए प्रोजेक्टको सहयोगमा १६ कोठे आवासीय विद्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ।

‘अभिभावकविहीन विद्यार्थीलाई हामीले सिफारिस गरेर त्यहाँ पढाउँछौँ। त्यहाँ खान र बस्न निःशुल्क व्यवस्था छ,’ बोहरा भन्छन्, ‘अभिभावकको सहारा नपाएर अँध्यारोमा रुमल्लिएका बालबालिकालाई शिक्षाको ज्योति दिएर उज्ज्वल भविष्य बनाउन यसले ठूलो भूमिका खेल्नेछ।’

हलिया, खलिया, भोटे तथा जनजाति समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने, कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने र ग्रामीण विद्यालयलाई प्रविधिमैत्री बनाउने काम अघि बढाइएको छ।

ज्येष्ठ नागरिकको घरमै भत्ता, पाण्डुसैनमै सरकारी सेवा

बुढीनन्दाको अर्को समस्या थियो— सामान्य प्रशासनिक कामका लागि पनि पालिका केन्द्र कोल्टीसम्म धाउनुपर्ने बाध्यता।

नुरी र पाण्डुसैनको पोरखेबाट करिब ५–६ घण्टा पैदल हिँडेर आउनुपर्ने ज्येष्ठ नागरिकहरूलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएपछि उनीहरू निकै उत्साहित छन्।

चारवटा वडाको केन्द्र बनाएर वडा नम्बर १० को पाण्डुसैनमा कृषि, भेटेरिनरी, स्वास्थ्य र खाद्य संस्थानको शाखा स्थापना गरिएको छ। जसका कारण स्थानीयलाई सामान्य सेवा लिन कोल्टी धाउनुपर्ने झन्झट हटेको छ।

‘पहिले बीउ लिन पनि कोल्टी आउनुपर्थ्यो। गाईवस्तु बिरामी हुँदासमेत टाढा पुग्नुपर्थ्यो। अहिले शाखा विस्तार भएपछि नागरिकलाई निकै सहज भएको छ,’ बोहरा भन्छन्।

यसले चामल किन्नकै लागि टाढा जानुपर्ने समस्या पनि हल गरेको छ। ‘नेपाल सरकारले यहाँका विपन्न नागरिकलाई निःशुल्क चामल दिँदैन। चामल लिनकै लागि पाण्डुसैन, कुरु लगायतका क्षेत्रबाट ७ सयभन्दा बढी गाडीभाडा तिर्नुपर्ने अवस्था थियो। अहिले पालिकाकै साधनमार्फत कुरु, घोडाकोट, भुलेना लगायतका दुर्गम बस्तीमा चामल पुर्‍याउने प्रबन्ध मिलाइएको छ,’ उनले सुनाए।

विद्युत् नपुगेका बस्तीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कामलाई पनि तीव्रता दिइएको छ। कोल्टीको खानेपानी समस्या समाधान गर्न २७ करोड रुपैयाँको खानेपानी आयोजना निर्माणाधीन छ।

टेलिफोनसमेत नलाग्ने बस्तीमा अहिले फोरजी सेवा पुगेको छ। वडा नम्बर ७ को कार्केला, वडा नम्बर ८ को हर्साली र वडा नम्बर ३ को तलिकोटीमा नेपाल टेलिकमका टावर निर्माण भएपछि स्थानीयले सहज रूपमा सञ्चार सेवा उपभोग गरिरहेका छन्।

कृषि र पर्यटनको प्रचुर सम्भावना

बुढीनन्दाको भूगोलमै बोहरा समृद्धिको आधार देख्छन्।

कोल्टी आसपास तराईजस्तो हावापानी भएकाले आँपलगायत फलफूल फल्छन् भने केही माथि पाण्डुसैन पुग्दा स्याउ र आलु उत्पादन हुन्छ।

‘यहाँ नफल्ने केही छैन। तर, सम्भावना भएर पनि बजारको अभावले गर्दा किसान समृद्ध हुन सकेका थिएनन्,’ उनी भन्छन्, ‘यहाँ ३० रुपैयाँ किलो टमाटर बिक्दैन, सदरमुकाममा त्यही टमाटर ९० रुपैयाँ पर्छ। त्यो समस्या हल गर्न र उत्पादन सुरक्षित राख्न हामीले कोल्ड स्टोर बनाएका छौँ।’

किसानको उत्पादन बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। आगामी दिनमा किसानका उत्पादन नगरपालिकाले नै खरिद गरी निर्यात गर्नेसम्मको योजना रहेको उनले बताए।

नागरिकता बनाउन तथा जग्गासम्बन्धी कामका लागि मार्तडी पुग्नुपर्ने बाध्यता हटाउन इलाका प्रशासन, मालपोत र नापी कार्यालय कोल्टीमै स्थापना गरिएका छन्। दानसाँघु खोलामा बेलिब्रिज निर्माण गरेर आवतजावत सहज बनाइएको छ भने बर्खामा अवरुद्ध सडक खुलाउन नगरपालिकाले आफ्नै डोजर प्रयोग गर्दै आएको छ।

आधारभूत विकासपछि अब उनको ध्यान पर्यटनमा केन्द्रित छ। बुढीनन्दा हुँदै रारा, बडिमालिका, खप्तड पुग्न सकिन्छ भने कर्णाली नदीमा र्‍याफ्टिङको ठूलो सम्भावना छ।

बुढीनन्दामा विमानस्थल हुनु र कर्णाली कोरिडोरले छोएकाले यो क्षेत्र रारा, रानीसैन, हुम्ला–हिल्सा, मानसरोवर र बडिमालिका जाने यात्रुका लागि मध्यविन्दु बन्न सक्छ।

‘हामीले धेरै समय आधारभूत आवश्यकता परिपूर्ति गर्नमै बितायौँ। अब पर्यटनका माध्यमबाट पालिकाको अर्थतन्त्र उकास्ने लक्ष्य छ। बडिमालिका, रारा र खप्तडलाई संसारले चिनेको छ। अब हामी बुढीनन्दा र रानीसैनलाई पनि विश्व पर्यटनको नक्सामा चिनाउँछौँ,’ उनले आत्मविश्वासका साथ भने।

यस्तो छ राजनीतिक यात्रा

साबिक पाण्डुसैन गाविस (हाल वडा नं. १०) मा जन्मिएका बोहरा सानैदेखि ग्रामीण जीवन र सामाजिक विभेदबाट प्रभावित थिए। दलित समुदायको बाहुल्य रहेको बस्तीमा हुर्किएका उनलाई विभेदविरुद्धको चेतनाले राजनीतितर्फ आकर्षित गरेको थियो।

उनको पारिवारिक पृष्ठभूमि राजनीतिक र प्रशासनिक थियो। बाजे पुस्तादेखि राजनीतिमा जोडिएको परिवारका उनका बुवा सरकारी सेवामा थिए भने आमा सामाजिक तथा राजनीतिक काममा सक्रिय थिइन्।

सत्य माविबाट कक्षा १० सम्मको अध्ययन गरेका बोहरा पढाइका साथै वक्तृत्वकला र अतिरिक्त क्रियाकलापमा सधैँ अब्बल थिए।

पञ्चायतकालमा तत्कालीन गृहमन्त्री प्रकाशबहादुर सिंह बाजुरा भ्रमणमा आएका बेला पञ्चायतविरोधी गतिविधि गरेको आरोपमा उनका बुवा दलबहादुर बोहरालाई बाजुराबाट कास्की सरुवा गरिएको थियो। बुवाको सरुवा हुँदा गाउँलेहरू रुँदै बिदाइमा सहभागी भएको दृश्यले उनको बालमस्तिष्कमा गहिरो राजनीतिक छाप छोड्यो।

त्यसपछि पोखरा पुगेका उनले पृथ्वीनारायण क्याम्पसबाट राजनीतिशास्त्र र अंग्रेजीमा अध्ययन गरे। पछि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र अंग्रेजीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलएम पूरा गरी उनले केही समय कानुन व्यवसायी (अधिवक्ता) का रूपमा काम गरे।

विद्यार्थी राजनीतिमा उनी अनेरास्ववियुको क्याम्पस कमिटी अध्यक्ष, अखिलको सदस्य सचिव हुँदै स्ववियु सदस्यसम्म बने। २०६१ माघ १९ को शाही कदमपछि उनले प्रतिगमनविरोधी विद्यार्थी आन्दोलनको नेतृत्व गरे। उनकै नेतृत्वमा गणतन्त्रको पक्षमा १ लाख २० हजार हस्ताक्षर सङ्कलन गरी काठमाडौँ पठाइएको थियो। २०६३ को जनआन्दोलनका क्रममा पक्राउ परेर उनी १९ दिन हनुमानढोका हिरासतमा समेत बसेका थिए।

पहिलोपटक झिनो हार, दोस्रोपटक भारी जित

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट बुढीनन्दाको नगरप्रमुख पदमा उठेका बोहरा मात्र ७५ मतले पराजित भए। तर, उनले हिम्मत हारेनन् र गाउँमै नागरिकका समस्यासँग जोडिइरहे।

पाँच वर्षपछि, २०७९ को निर्वाचनमा उनी पुनः मैदानमा उत्रिए र यसपटक १,८५५ भन्दा बढी मतान्तरसहित शानदार विजयी भए।

सादा जीवनशैली रुचाउने बोहराले २०६५ सालमा काठमाडौँको बल्खुमा सुदूरपूर्वकी लिम्बू समुदायकी युवतीसँग जनवादी विवाह गरेका थिए। उनी आफ्ना दुवै छोरालाई सरकारी विद्यालयमै पढाइरहेका छन्।

‘हामी भाषणमा मात्र क्रान्तिकारी हुने होइन, व्यवहारमै देखिनुपर्छ। मैले अन्तरजातीय जनवादी विवाह गरेँ, आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाइरहेको छु,’ उनी भन्छन्।

उनको अन्तिम लक्ष्य बुढीनन्दा मात्र नभई सिङ्गो बाजुराको पहिचान फेर्नु हो।

‘अभाव र गरिबीको परिचय बोकेको बाजुरालाई अब सम्भावना, उत्पादन र पर्यटनको जिल्ला बनाउनु छ,’ बोहरा भन्छन्, ‘हामी सबै मिलेर बाजुरालाई विकट होइन, समृद्धिको जिल्लाका रूपमा स्थापित गर्नुपर्छ।’

भानुभक्त आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button