**बाजुरा, मंसिर ८
सनातन धर्मको संरक्षण, वैदिक ज्ञानपरम्पराको पुनर्जागरण तथा ऋषिमुनिहरूले स्थापित गरेको गुरुकुलीय शिक्षा पद्धतिको संवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ सञ्चालित श्रीकर्णाली पादुका त्रिवेणी धाम ज्ञान–विज्ञान धार्मिक महोत्सव २०८३ मा एक अनुकरणीय धर्मसेवी समर्पण प्राप्त भएको छ।

जगन्नाथ गाउँपालिका–१, ढाडाकोटका मूल निवासी तथा हाल काठमाडौंमा रहनुभएका वरिष्ठ समाजसेवी श्री नरेन्द्र राज गिरीज्यूले वैदिक सनातन गुरुकुल विद्यापीठको सर्वाङ्गीण विकास, संरक्षण एवं शैक्षिक तथा आध्यात्मिक उन्नयनका निमित्त रु. १ लाख ५१ हजार (एक लाख एकाउन्न हजार रुपैयाँ) नगद दान श्रद्धा र भक्तिभावपूर्वक समर्पण गर्नुभएको छ।
सनातन धर्म केवल आस्था र उपासनाको विषय मात्र नभई मानव सभ्यता, जीवनदर्शन, संस्कार र आध्यात्मिक चेतनाको शाश्वत आधार हो। यस महान् परम्परालाई भावी पुस्तासम्म अक्षुण्ण राख्न गुरुकुलीय शिक्षा प्रणालीको संरक्षण र विकास अपरिहार्य छ। यसै पवित्र भावनालाई आत्मसात् गर्दै गिरीज्यूबाट प्राप्त सहयोग धर्म, संस्कृति र समाजप्रतिको उच्च उत्तरदायित्वबोधको प्रशंसनीय दृष्टान्त बनेको छ।
मंसिर ६ गतेदेखि १३ गतेसम्म वैदिक सनातन गुरुकुल विद्यापीठ, जगन्नाथ गाउँपालिका–१, पिलुचौर, बाजुरामा सञ्चालन भइरहेको यस महोत्सवमा श्रीमद्भागवत दार्शनिक प्रवचन, धनधान्याञ्चल, तुलादान, ग्रहशान्ति, बालसंस्कार तथा योगविज्ञान शिविरलगायतका विविध वैदिक एवं आध्यात्मिक अनुष्ठानहरू सम्पन्न भइरहेका छन्।
सनातन धर्मको गौरवशाली विरासतलाई जीवन्त राख्दै वैदिक शिक्षा, संस्कार, संस्कृति र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा गुरुकुललाई स्थापित गर्ने लक्ष्यसहित अगाडि बढिरहेको यस पवित्र महाअभियानमा गिरीज्यूको योगदान अत्यन्त प्रेरणादायी रहेको छ।
धर्म, संस्कृति र गुरुकुलको सेवामा समर्पित प्रत्येक दान केवल आर्थिक सहयोग मात्र नभई सनातन सभ्यताको संरक्षणका निमित्त गरिएको पवित्र यज्ञमा आहुतिसरह हो। यस पुण्यकार्यमा सहभागी हुनुभएका दाताप्रति धार्मिक महोत्सव मूल समारोह समिति हार्दिक कृतज्ञता एवं उच्च सम्मान व्यक्त गर्दछ।
दाता श्री नरेन्द्र राज गिरीज्यूमा हार्दिक साधुवाद, यश, कीर्ति एवं उत्तरोत्तर समृद्धिको मंगलमय शुभकामना!
॥ धर्मो रक्षति रक्षितः ॥
॥ जयतु सनातन धर्मः, जयतु वैदिक संस्कृति ॥
आयोजक: धार्मिक महोत्सव मूल समारोह समिति


